(बाँके), — बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली सम्बन्धी तीनदिने तालिम शुक्रवारदेखि सुरु भएको छ । स्थानीय सरकार अन्तर्गत बालअधिकार संरक्षण तथा बालमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
जानकी गाउँपालिकाको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपाल र सामाजिक विकास मञ्चको सहयोगमा सुरु भएको उक्त तालिममा स्थानीय सरकारका बालअधिकार समितिका पदाधिकारी, बाल संरक्षणका क्षेत्रमा कार्यरत सरोकारवाला निकाय तथा विभिन्न समुदायस्तरका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा बाल संरक्षण प्रणालीको विकास, बालअधिकारसम्बन्धी प्रक्रिया, घटना व्यवस्थापन, बाल संरक्षण सूचना व्यवस्थापन प्रणालीको प्रयोग तथा बाल संरक्षण सेवासम्बन्धी विषयमा सहजीकरण प्रशिक्षक प्रकाश उपाध्यायले गर्नुभएको थियो । तालिमले बाल संरक्षणका घटनाको प्रभावकारी अभिलेखीकरण, व्यवस्थापन तथा आवश्यक सेवा प्रवाहमा स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
जानकी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष चण्डिका प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाह प्रमुख अतिथिका रूपमा रहनुभएको थियो । कार्यक्रममा प्रशिक्षक उपाध्यायले बाल संरक्षणका कानुनी, नीतिगत तथा व्यवहारिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो ।
सामाजिक विकास मञ्चका कार्यक्रम संयोजक भीमबहादुर सार्की, बाल संरक्षण अधिकृत जनक चौधरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बाल क्लबका पदाधिकारी, वडा सचिव, जनप्रतिनिधि, शिक्षक, समाजसेवी तथा सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रममा ३० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
उद्घाटन सत्रमा वक्ताहरूले बालबालिकाको अधिकार संरक्षण, जोखिममा रहेका बालबालिकाको पहिचान तथा उनीहरूलाई आवश्यक सेवा उपलब्ध गराउन सूचना व्यवस्थापन प्रणालीको महत्वपूर्ण भूमिका रहने बताएका थिए । बाल संरक्षणसम्बन्धी तथ्यांक व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन यस्ता तालिम उपयोगी हुने उनीहरूको भनाइ थियो । आयोजकका अनुसार तीन दिनसम्म सञ्चालन हुने तालिमले बाल संरक्षणका क्षेत्रमा स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय तथा सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । तालिम आइतवार सम्पन्न हुनेछ ।
00











