आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजन एवं समन्वयमा ‘सञ्चारकर्मीसँग कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा कर अधिकृत उदयराम केसीले आर्थिक विधेयक २०८३, नयाँ कर व्यवस्था, करदातालाई प्रदान गरिएका छुट तथा सहुलियत, कर सम्बन्धी कानुनी व्यवस्था र सञ्चारकर्मीको भूमिकाबारे विस्तृत प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिपछि सहभागी पत्रकारहरूले उठाएका जिज्ञासाको समेत केसीले जवाफ दिएका थिए । केसीले आर्थिक विधेयक २०८३ ले अहिलेसम्मकै बढी छुट र सहुलियत प्रदान गरेको जानकारी गराउँदै करदातालाई राजश्व कार्यालयमा सम्पर्क गरी मौकाको फाइदा लिन आग्रह गरे । त्यसका लागि आवश्यक सूचना नागरिकसमक्ष प्रवाह गरिदिन उनले संचारकर्मीलाई आग्रह समेत गरे ।
कार्यालयका प्रमुख कर अधिकृत पूर्ण प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख कर अधिकृत न्यौपाने र नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीले मन्तव्य व्यक्त गरेका थिए । प्रमुख कर अधिकृत न्यौपानेले कर प्रणालीलाई पारदर्शी, सरल र सेवामैत्री बनाउन आन्तरिक राजस्व कार्यालय निरन्तर प्रयासरत रहेको बताए । उनले सही र तथ्यपरक कर सूचना नागरिकसम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै कर सम्बन्धी भ्रम चिर्न र कर सचेतना अभिवृद्धि गर्न पत्रकारसँग सहकार्यलाई अझ प्रभावकारी बनाइने बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले पत्रकारहरूलाई कर सम्बन्धी अद्यावधिक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया निकै उपयोगी भएको बताए । उनले कर नीति तथा आर्थिक विषयलाई आम नागरिकसम्म सरल, तथ्यपरक र जिम्मेवार ढंगले पुर्याउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै यस्ता अभिमुखीकरण तथा अन्तरक्रियालाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए । साथै, गिरीले राज्यका निकाय र सञ्चार क्षेत्रबीच नियमित समन्वय र संवादले सुशासन, कर सचेतना तथा उत्तरदायी पत्रकारितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
गत वर्ष पनि आन्तरिक राजश्व कार्यालय नेपालगन्जले पत्रकार महासंघसंग समन्वय गरी कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको थियो











