बाँके नेपालगञ्ज उपमहानगरपालिकाका उम्मेदवारहरुले स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।संवाद समूह बाँकेद्धारा सोमबार नेपालगञ्जमा आयोजित स्थानीय तह निर्वाचन ०७९ आचार संहिता कार्यान्वयनका सन्दर्भमा आयोजित अन्तरक्रियात्मक संवाद कार्यक्रममा उम्मेदवारले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
विभिन्न राजनीतिक दलबाट नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुखका प्रत्यासीहरुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचार संहिता पालनानै अन्तिम विकल्प भएको स्वीकार्दै प्रतिवद्धता सार्वजनिक गरेका हुन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखका लागि १७ जना र उपप्रमुखका लागि ९ जना प्रतिष्पर्धामा रहेका छन ।मुख्य निर्वाचन अधिकृत, सञ्चारकर्मी र अधिकारकर्मी लगायतकोे सहभागिता रहेको कार्यक्रममा उनीहरुले आचारसंहिताको पालना गर्ने र गराउने दायित्वबाट विमुख नहुने बाचा गर्दै सामुहिक खवरदारी र हातेमालोको आवश्यक्तामा पनि जोड दिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले आचारसंहिता स्वयंले लागु गर्नु पर्ने भन्दै तडक भडक प्रचार गरेर जीतीन्छ भन्ने मानशिकता त्याग्न उम्मेदवारलाई आहवान गरे । आचार संहिता उल्लंघन गर्नेलाई मतदाताले मतद्धारा पनि दण्डीत गर्ने दावी गर्दै उहाँले प्रमाणसहित उजुरी आएमा कानूनी कारवाही गरिने स्पष्ट पारे ।संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रममा संवाद समूहका सदस्य एवं अधिवक्ता प्रहलाद वहादुर कार्कीले उम्मेदवारले अपनाउनु पर्ने आचारसंहिता बारे प्रकाश पारेका थिए। संवाद समूह, बाँकेले स्थानीय तह निर्वाचन आचारसंहिता पालनाका सन्दर्भमा सरोकारवालासँग विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ ।
00