नेपालगञ्ज ११ स्पोर्टिङ क्लबले बाँके जिल्लाको फुटबल इतिहासमा नयाँ आयाम थप्दै ऐतिहासिक सफलता हासिल गरेको छ। बाँके जिल्ला फुटबल संघको प्रत्यक्ष सहयोग बिना नै क्लबले २०८२ सालको ‘सहित स्मारक सी–डिभिजन क्वालीफायर’ मा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शनका साथ मुख्य ‘सी–डिभिजन लिग’ मा स्थान सुरक्षित गर्न सफल भएको हो।
क्लबका अध्यक्ष घनश्याम थापाका अनुसार सीमित स्रोत र चुनौतीपूर्ण अवस्थाबीच राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भई सफलता हात पार्नु नेपालगञ्ज ११ का लागि अत्यन्तै महत्वपूर्ण उपलब्धि हो।
“शुक्रबार सम्पन्न राष्ट्रिय स्तरको क्वालीफायर खेलमार्फत सी–डिभिजन लिगमा प्रवेश गर्नु बाँके जिल्लाकै फुटबलका लागि गर्वको विषय हो,” अध्यक्ष थापाले बताए।उनका अनुसार पछिल्लो केही समयदेखि बाँके जिल्लामा फुटबल गतिविधि सुस्ताउँदै गएको अवस्था थियो।
“यस्तो कठिन परिस्थितिमा नेपालगञ्ज ११ ले राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शनसहित सी–डिभिजनमा स्थान बनाउनु ठूलो उपलब्धि हो,” उनले भने। साथै, क्लबलाई विशेष महत्वका साथ अघि बढाइ भविष्यमा अझ मजबुत र प्रतिस्पर्धी बनाउने लक्ष्य रहेको उनले स्पष्ट पारे।
नेपालगञ्ज ११ पश्चिम नेपालको फुटबल संरचनाबाट उदाएका जोसिला तथा प्रतिभाशाली युवाहरूको प्रतिनिधित्व गर्ने फुटबल संस्था हो। क्लबमा आवद्ध खेलाडीहरू स्थानीय स्तरबाट उदाउँदै राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्दै आएको इतिहास बोकेका छन्। यस क्लबले बाँके जिल्लाका युवाहरूलाई फुटबलमार्फत पहिचान, अवसर र सम्भावनाको ढोका खोल्दै आएको छ।
क्लबको यो सफलताको मुख्य आधार खेलाडी, प्रशिक्षक, व्यवस्थापक र समिति सदस्यबीचको साझा योजना, अनुशासन र समर्पण रहेको अध्यक्ष थापाको भनाइ छ। क्वालीफायरका प्रत्येक चरणमा टोलीले उत्कृष्ट रणनीति, कडा मेहनत र बलियो टिमवर्क प्रदर्शन गर्दै प्रतिस्पर्धी टोलीहरूलाई पछि पार्न सफल भयो। यही निरन्तर प्रयासको परिणामस्वरूप शुक्रबारको निर्णायक खेलमार्फत
नेपालगञ्ज ११ ले सी–डिभिजन लिगमा आफ्नो स्थान सुनिश्चित गरेको हो।अध्यक्ष थापाका अनुसार अब मंसिर २८ गते हुने अन्तिम खेलमा जित हासिल गरी ट्रोफीसहित नेपालगञ्ज नगर परिक्रमा गर्ने कार्यक्रमसमेत तय गरिएको छ।“यो सफलता केवल क्लबको मात्र होइन, सम्पूर्ण नेपालगञ्ज र बाँके जिल्लाकै हो,” उनले भने।नेपालगञ्ज ११ को यो उपलब्धिले बाँके जिल्लामा फुटबलप्रतिको आशा, उत्साह र विश्वास पुनः जागृत गराएको छ। खेलप्रेमीहरूले क्लबको सफलतालाई जिल्लाको खेलकुद विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। आगामी दिनमा यस क्लबले अझ उच्च स्तरका प्रतियोगितामा सहभागिता जनाउँदै राष्ट्रिय फुटबलमा बाँकेको पहिचान अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।











