समुदायमा आधारित समाचार सम्प्रेषण गर्दा पत्रकारले संवेदनशीलता, सत्यता, निष्पक्षता र उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्नेमा स–रोकारवालाले जोड दिएका छन्। समाचारले समाजमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले पत्रकारले प्रकाशित गर्ने प्रत्येक सामग्रीमा तथ्य, सन्तुलन र मानवीय संवेदनशीलताको विशेष ख्याल गर्नुपर्ने उनीहरूको भनाइ थियो।
लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोग तथा सामुदायका लागि सञ्चार अभियान नेपाल, नेपालगञ्ज बाँकेको समन्वयमा शनिबार आयोजित ‘समुदायका लागि संवेदनशील र प्रभावकारी रिपोर्टिङका लागि पत्रकारको क्षमता अभिवृद्धि’ कार्यक्रममा वक्ताहरूले पत्रकारिता पेशा लोकतन्त्रको आधार स्तम्भ भएकाले समुदायका आवाजलाई जिम्मेवारीपूर्वक उजागर गर्नुपर्ने बताए।
कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका कानुनमन्त्री भण्डारीलाल यादवले पत्रकारले सत्यतथ्य र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै समाचारको एउटा शब्दले समेत समाजमा सकारात्मक वा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले पत्रकार सधैं जिम्मेवार हुनुपर्ने धारणा राखे।
उनले प्रदेश सरकारको बजेट कार्यान्वयनबारे बोल्दै पर्याप्त बजेट विनियोजन भए पनि दक्ष जनशक्ति अभाव तथा कार्यविधिगत जटिलताका कारण केही कार्यक्रम अपेक्षाअनुसार सञ्चालन हुन नसकेको बताए। चालु आर्थिक वर्षमा शतप्रतिशत बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सरकारका कमजोरीलाई निडरतापूर्वक उजागर गर्न पत्रकारलाई आग्रह गरे। ूमेरो बारेमा पनि सत्य लेख्नुस्, त्यसबाट सुधार गर्ने अवसर प्राप्त हुन्छ,ू उनले भने। साथै सरकारले गरेका सकारात्मक कामलाई पनि सन्तुलित रूपमा सार्वजनिक गर्न उनले आग्रह गरे।
लुम्बिनी प्रदेशसभा सदस्य लिला श्रेष्ठले पत्रकारिता कुनै पनि राजनीतिक वा व्यक्तिगत स्वार्थबाट प्रभावित हुन नहुने बताइन्। पत्रकारको क्षमता अभिवृद्धिका लागि आफूले पहल गरेर बजेट व्यवस्थापन गरिएको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले पत्रकारिताको गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रमका सभापति तथा मन्त्रालयका उपसचिव सुरेशचन्द्र आचार्यले पत्रकारिता अत्यन्त संवेदनशील र चुनौतीपूर्ण पेशा भएकाले कानुनी व्यवस्था, मानव अधिकार तथा सामुदायिक संवेदनशीलताबारे पत्रकारलाई पर्याप्त जानकारी हुन आवश्यक रहेको बताए। पत्रकारले सरकार र जनताबीच पुलको भूमिका निर्वाह गर्ने भएकाले जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्नुपर्ने उनको भनाइ थियो।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारितामा सिकाइको प्रक्रिया कहिल्यै समाप्त नहुने उल्लेख गर्दै पछिल्लो समय समाजमा संवेदनशीलता र करुणा कमजोर बन्दै गएको बताए। उनले सामाजिक सञ्जाल प्रयोगकर्ता र व्यावसायिक पत्रकारबीच स्पष्ट भिन्नता रहेको भन्दै पत्रकारिताको विश्वसनीयता जोगाउन सबै पत्रकार जिम्मेवार बन्नुपर्ने धारणा राखे।
उद्घाटन सत्रमा मन्त्रालयकी कर्मचारी केशरी शर्माले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण भूपबहादुर मल्लले गरेका थिए।
दोस्रो सत्रमा अधिवक्ता वसन्त गौतमले लैङ्गिक हिंसा, घरेलु हिंसा, कानुनी व्यवस्था तथा यस्ता विषयमा समाचार लेख्दा पत्रकारले अपनाउनुपर्ने संवेदनशीलताबारे प्रशिक्षण दिएका थिए।
वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले हतारमा समाचार प्रकाशन गर्दा एउटा पत्रकारको त्रुटिले समग्र पत्रकारिता क्षेत्रकै विश्वसनीयतामा असर पुग्ने बताए। उनले तथ्य पुष्टि नगरी समाचार सम्प्रेषण गर्ने प्रवृत्तिले समुदायमा गलत सन्देश जाने भएकाले तथ्यमा आधारित, सन्तुलित र उत्तरदायी पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
त्यसैगरी पत्रकार शंकरप्रसाद खनालले समाजमा रहेका हानिकारक अभ्यास तथा विभेदविरुद्ध प्रभावकारी समाचार लेखनका विषयमा प्रशिक्षण दिएका थिए भने पत्रकार सावित्री गिरीले सामुदायिक संवेदनशीलता, उत्तरदायी पत्रकारिता र समुदायमैत्री सञ्चार अभ्यासका विषयमा सहजीकरण गरेकी थिइन्।एकदिने क्षमता अभिवृद्धि कार्यक्रममा बाँके जिल्लाका करिब दुई दर्जन पत्रकारको सहभागिता रहेको थियो ।दैनिक नेपालगंज
00
हामीसँग जोडिनुहोस्
सिफारिस











