राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन)को सातौं राष्ट्रिय महाधिवेशन आइतवार नेपालगञ्जमा आयोजना गरिने भएको छ ।
संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले उदघाटन गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै नीतिगत समस्याहरुमा बृहत बहस गर्ने नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए ।
केन्द्रीय अध्यक्ष सापकोटाले पुरानो र थोत्रो ऐनका भरमा शिक्षा क्षेत्र तहसनहस भैरहेको भन्दै भैरहेका कमी, कमजोरी सुधार सहित तत्काल संघीय शिक्षा ऐन ल्याउन महाधिवेशनले दबाब दिने बताए ।
कोभिड महामारीले थलिएको शिक्षा क्षेत्रलाई उकास्न सरकारले गतिलो नीति बनाउन नसकेकोमा संस्थागत विद्यालयको क्षेत्र चिन्तित रहेको नेशनल प्याब्सनका पदाधिकारीको भनाइ छ ।
नेशनल प्याब्सनका लुम्बिनी प्रदेश अध्यक्ष सुबोध कुमार डाँगीले देशभरीबाट १ हजार ५ सय बढी विद्यालयका प्रतिनिधि महाधिवेशनमा सहभागिताको अपेक्षा गरिएको बताए ।