नेपालगन्ज/ पश्चिम नेपालकै प्रसिद्ध भेरी अस्पतालमा कर्मचारी दरबन्दीमा अनियमितता भएको पाइएको छ । कोभिड–१९ को महामारीका समयमा कर्मचारी अभाव झेलिरहेको अस्पतालले करिब ८० जना कर्मचारी विभिन्न शाखामा भर्ना गरेको थियो । दरबन्दीका कर्मचारी पदपूर्ति गर्दा १२ देखि १५ जना बिना दरबन्दीका कर्मचारी पदपूर्ति गरेको पाइएको छ ।
अहिले तिनै बिना दरबन्दीमा भर्ना भएका कर्मचारीलाई कहाँबाट तलब खुवाउने विषयले गर्दा दरबन्दीमा पदपूर्ति भएका करारका कर्मचारीले विगत दुई महिनादेखि तलब पाउन सकेका छैनन् ।
तलब नपाउँदा कोठा भाडा लिएर बसेका कर्मचारीलाई आर्थिक समस्या परिरहेको नाम नखुलाउने सर्तमा एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धिताल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाई जिल्ला बाहिर हुँदा अस्पतालका अधिकृत रामप्रसाद अधिकारीलाई तलब खुवाउने जिम्मा दिएको बुझिएको छ । अधिकृत अधिकारी पनि घरमा आफन्त बिरामी भएको भन्दै गत माघ महिनादेखि बिदामा बस्दा कर्मचारीले तलब खान पाएका छैनन् ।
यता भेरी अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष होमनाथ सुवेदीले अन्य कर्मचारीले तलब भत्ता खाइसके पनि करार कर्मचारीले तलब खान नपाएको बताए । अध्यक्ष सुवेदीले यस विषयमा लेखाअधिकृतलाई बुझ्दा बिना दरबन्दीमा भर्ना भएका कर्मचारीले कुन स्रोतबाट तलब खुवाउने विषयमा अन्योलता भएका कारण करारका कर्मचारीलाई तलब खुवाउन नसकिएको जानकारी दिए ।
यस विषयमा अस्पताल विकास समितिका अध्यक्ष प्रमोद कुमार धिताल र मेडिकल सुपरिटेन्डेन्ट बद्री चापागाईलाई सम्पर्क गर्दा फोन उठेन ।