नेपालगञ्ज उपमहानगरपालिकामा अनलाइन सिफारिस प्रणाली लागू भएको छ । २३ वटै वडाबाट अब अनलाइन सिफारिस हुने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
अनलाइन सिफारिस प्रणाली एपमार्फत् सेवाग्राहीले आफैं आवश्यक कागजपत्र अपलोड गरेर सिफारिसका लागि अनलाइन आवेदन पनि दिन सक्नेछन् । सेवाग्राहीले आफूले संलग्न गरेका कागजपत्र र प्रक्रिया पुगे नपुगेको जानकारी पनि एपमार्फत नै लिएर काम सम्पन्न भएको नभएको अवस्था एकिन समेत गर्न सक्नेछन् । त्यसपछि वडा कार्यालयमा पुगेर सिफारिस लिन सकिनेछ । सेवा लिन वडामा पुग्ने सेवाग्राहीलाई पनि वडा कार्यालयले अनलाइन सिफारिस वेबमार्फत अनलाइन सिफारिस प्रणालीबाट छिटोछरितो सेवा प्रवाह गर्नेछन् ।
२३ वटै वडामा अनलाइन सिफारिस प्रणाली सम्बन्धि वडा अध्यक्ष र वडा सचिवहरुका लागि विहिबार अयोजित एक दिने अभिमुखीकरण तालिमलाई सम्बोधन गर्दे नगर प्रमुख प्रशान्त विष्टले अनलाइन सिफारिस प्रणाली लागू भएपछि नेपालगञ्ज उपमहानगरपालिका डिजिटलाइजेसनको नयाँ युगमा प्रवेश गरेको बताए । उनले नेपालगञ्ज उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउने अभियानमा आफूहरु लागेको बताउँदै अनलाइन सिफारिस प्रणालीको सुरुवातले प्रविधिमैत्री सेवा प्रवाहमा नयाँ फड्को मारेको उल्लेख गरे ।
उपप्रमुख कमरुद्दिन राईले अनलाइन सिफारिस प्रणालीको सुरुवातले सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाहसंगै समयको पनि बचत हुने बताए । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले अब सबै वडाको सिफारिसमा एकरुपता आउने बताउँदै डिजिटलाइज सेवा प्रवाहले सहजता थप्ने उल्लेख गरे।
अभिमुखीकरण तालिममा अनलाइन सिफारिस प्रणाली के हो, यो प्रणाली चलाउने तरिका, यसका फाइदा र आउने जटिलताहरु कसरी सम्बोधन गर्ने लगायतका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत घनश्याम बर्मा, राजापुर नगरपालिकाका सूचना प्रविधि अधिकृत खुसीराम थारु, जिआइजेडका नारायण सुवेदी र अजिता पोख्रेलले प्रशिक्षण दिएका छन । अभिमुखीकरण कार्यक्रममा २३ वटै वडाका वडा अध्यक्ष तथा वडा सचिवहरुको सहभागिता थियो । जिआइजेडको आर्थिक सहयोगमा अनलाइन सिफारिस प्रणाली विकास गरिएको हो ।