शारीरिक र मानसिक रुपमा बलियो बन्नका लागि खाद्यान्न आधारभूत आवश्यकताको रुपमा रहन्छ । तर हामीले दैनिक रुपमा प्रयोग गर्दै आएको ९५% खाद्यान्न स्वस्थ्यका लागि हानिकारक रहेको बताइएको छ ।
राष्ट्रिय विकास र समृद्धिको सम्वाहकको रुपमा रहेको मानव स्वास्थ्य हो । खाद्य सुरक्षा केवल मानव सुरक्षासँग मात्र होइन सिंगो विकास प्रणालीसँग जोडिने भएता पनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको आरोप नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघका केन्द्रीय अध्यक्ष डा. अतुल उपाध्यायले लगाएका छन् । बजारको अस्वस्थ्य प्रतिस्पर्धाका कारण बजारमा पाइने दैनिक उपभोग्य वस्तुको उत्पादन बढाउन आवश्यकता भन्दा अत्यधिक मात्रामा विषादीको प्रयोग भइरहेको बताउँदै त्यस्ता उत्पादनको निगरानी सरकारी निकायबाट पर्याप्त मात्रामा हुन नसकेको डा. उपाध्यायले बताए ।
‘खाद्य पदार्थमा हर्मोन, पेस्टिसाइडलगायतका मिसावट ठूलो समस्याको रुपमा आइरहेको छ । राज्यले विभिन्न निकायले आफ्नो तर्फबाट चेकजाँच गरे पनि त्यो पर्याप्त छैन । संघीय सरकार, स्थानीय सरकारले आफ्नो क्षमता, स्रोत साधनलाई प्रयोग गरेर खाद्य प्रविधि खाद्य विज्ञानलाई अगाडि ल्याउनु पर्छ,’ डा. उपाध्यायले भने ।
उपाध्यायका अनुसार सरकारी निकायमा हुने जनशक्ति अभावका कारण उत्पादित खाद्य वस्तुमा भएको मिसावट पर्याप्त मात्रामा जाँच हुन नसक्दा पनि त्यसले विकराल रुप लिँदै गएको बताउँदै राम्रो देखाउनका लागि बजारमा पाइने मिठाइमा प्रयोग गरिएको रङ्गीविरङ्गी खाद्य पदार्थले पनि मानव जीवनलाई दीर्घकालीन रुपमा असर गर्ने भएकाले राज्य स्तरबाट नै त्यस्ता खाद्य पदार्थलाई बन्देज लगाउन सकिरहेको छैन । त्यस्तै हामीले प्रयोग गर्ने खाद्यान्नमा खाने तेल, दूध, मह, प्याकेजिङ गरिएका खाद्यान्न, विस्कुट, चाउचाउलगायतका वस्तुमा पनि दीर्घकालीन रुपमा स्वास्थ्यलाई असर गर्ने विषादी प्रयोग भएको बताउँदै डा. उपाध्यायले त्यस्ता वस्तुलाई स्थानीय सरकारले चेकजाँच गरी नागरिकलाई स्वस्थ खाद्यान्न प्रयोग गर्न पाउनु पर्ने अधिकारको सुनिश्चितता गर्नु पर्ने बताए ।
डा. उपाध्यायले ४÷५ वर्ष अघि गरिएको एक परीक्षणमा बाँकेका ९५ प्रतिशत गर्भवती महिलाको रगत र दूधमा एफ्ला टक्सिन भेटिएको जानकारी दिए । उक्त टक्सिन लिभर सम्बन्धी समस्या ल्याउने कारक तत्वका रुपमा लिइन्छ । यद्यपि ती गर्भवती आमामा भेटिएको टक्सिनले के कस्तो असर ग¥यो त्यो परीक्षण हुन नसकेता पनि विशेष गरी गर्भवती आमाले सेवन गरेको मकै, बदाम, खुर्सानीलगायतका अखाद्य पदार्थको सेवनबाट त्यो टक्सिन उनीहरुको रगत र दूधमा देखिएकोे बताए ।
नेपाल सरकारको तथ्यांक हेर्ने हो भने ८ प्रतिशत खाद्य पदार्थ अस्वस्थ रहेको छ । तर हामीले दैनिक रुपमा खरिद गर्ने खाद्य पदार्थमा मिसावट भएको छ । त्यसले कुन लेबलमा मानव स्वास्थ्यलाई हानी गरेको छ त्यो जाँच नहुँदा पनि मानव स्वास्थ्य गम्भीर अवस्थातर्फ धकेलिँदै छ । त्यसैले राज्यले सबै कुराको चेकजाँच एकैपटक गर्न नसके पनि तालिका अनुसार खाद्य वस्तुको जाँच गर्नु पर्ने डा. उपाध्यायले बताए । उपभोक्ताले मिसावटको खाद्य पदार्थ कसरी प्रयोग गर्ने प्रश्नमा उनले भने,‘ सबै भन्दा सोझो उपभोक्ता हो । हामीलाई केही पनि थाहा छैन, त्यसैले हामी उपभोक्ता हौं । तर नागरिकले के खाने के नखाने भन्ने कुराको जिम्मेवारी राज्यले लिनु पर्छ ।’
डा. उपाध्यायका अनुसार अस्वस्थ वा अखाद्य बस्तु विशेष गरी ५ वर्षमुनिका बालबालिका, गर्भवती महिला र ज्येष्ठ नागरिकलाई सेवन गर्न दिनु हुँदैन ।
स्वस्थ्य खाद्यान्नको वकालत गर्दै नेपालगन्ज च्याप्टर

दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न स्वस्थकर हुनु पर्छ भन्ने विषयलाई वकालत गर्नका लागि बाँकेमा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघको शाखा, नेपालगन्ज च्याप्टर गठन भएको छ । शाखामा नेपालगन्जमा रहेका विभिन्न व्यापार व्यवसायमा संलग्न व्यक्ति रहेका छन् ।
सन्तोष पोख्रेलको अध्यक्षतामा गठित शाखाको सचिवमा पदम बराल, कोषाध्यक्षमा सुनिता खुलान रहेका छन् भने सदस्यमा क्रमशः विवेक कुमार सुवेदी, गौरी हमाल, राजेश कुमार चौधरी र पूजा शर्मा रहेका छन् ।
शाखाले बजारमा पाइने खाद्यान्न खान योग्य छ कि छैन भन्ने कुराको चेकजाँच गर्नका लागि स्थानीय निकाय र सरकारी पक्षलाई झक्झक्याउने छ भने उपभोक्ताको स्वस्थ्यकर खाना खान पाउने अधिकारलाई सुनिश्चित गराउन पहल गर्ने छ ।