मधु पौडेल
बाँकेमा पछिल्लो समय रगतको माग मध्यम रहेको बताइएको छ । नेपाल रक्तसंचार केन्द्र नेपालगन्जका अनुसार अत्यधिक जाडो मौसमका कारण अस्पतालमा आउने बिरामीको चाप घटेसँगै रगतको मागमा कमी आएको हो । शनिबार बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित राँझामा आयोजना गरिएको रक्तदान कार्यक्रममा बोल्दै रक्तसंचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले अहिले पहिला जस्तो रगतको अभाव खेप्न नपरिरहेको बताए । प्रमुख रेग्मीका अनुसार ४० देखि ५० पिन्टसम्म रगत संकलन क्रमशः हँुदै आएकाले अहिले रगतको माग उच्च नभएता पनि न्यून पनि नभएको बताए । नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धन सिंह सम्झनाले रक्तदान महान दान भएको हुँदा रक्तदानलाई सबैले महत्वका साथ लिनु पर्ने धारणा राखे । नेपालगन्ज उपमहानगरपालिका–२० का वडा अध्यक्ष कौशल कुमार धोबीले रक्तदानलाई प्राथमिकतामा राख्दै स्थानीय वडाको आयोजनामा समेत रक्तदानका कार्यक्रम गर्दै आएको तथा रक्तदान जस्तो कार्यक्रमलाई थप बल प्रदान गर्नका लागि विपत न्युनीकरणको बजेटमा जोडिएको बताए । १०५ पिन्ट रक्त संकलन नेपाल रेडक्रस सोसाइटी नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुर शाखाको वार्षिक कार्यक्रम अन्तर्गत शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । राँझास्थित डि–एच फिटनेस क्लबमा भएको रक्तदानमा १०५ पिन्ट रक्त संकलन भएको मनिकापुर शाखाका सभापति नवराज सापकोटाले जानकारी दिए । सभापति सापकोटाले विविध परिस्थितिले गर्दा पछि सारिएको रक्तदान कार्यक्रममा उल्लेख्य संख्यामा रक्त संकलन भएको बताए । सापकोटाले भने,‘मनिकापुर शाखाको वार्षिक कार्यक्रम अन्तर्गत हामीले अलि अघि गर्नु पर्ने कार्यक्रम हो तर पनि सबैको साथ सहयोगले १०५ पिन्ट रगत संकलन गर्न सफल भएका छौं ।’ रक्तदान कार्यक्रमलाई प्रत्यक्ष रुपमा सहयोग गरेको डि–एच फिटनेस क्लब राँझाका संचालक दिनेश थापाले ग्रामीण क्षेत्रका मानिसलाई रक्तदान गर्नु पर्छ भन्ने जनचेतना जगाउन आवश्यक रहेको बताए । रक्तदानमा प्रमुख सेनानी श्याम अत्रिय पौडेल, शाखाका उपसभापति भविसरा कुमार बोहरालगायतको उपस्थिति रहेको थियो ।