काठमाडौं , अन्ततः सवारी साधनमा इम्बोस्ड नम्बर प्लेटको भाषा र डिजाइन नफेरिने भएको छ । सरकारले प्लेटको जडानलाई सुरुकै अवस्था र प्रक्रियाबाट अघि बढाउने निर्णय गरेको छ ।
यसअघि भाषा र डिजाइन बदल्न भन्दै सरकारले गृहकार्य अघि बढाए पनि सम्भव नहुने निष्कर्ष निकाल्दै पुनः पहिलेकै निर्णयअनुसार इम्बोस्ड जडानलाई अनिवार्य गर्न थालेको छ ।
यसअनुसार यातायात व्यवस्था विभागले देशभरका सबै सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रुपमा जडान गर्न समयसीमा नै दिएको छ । सरकारी कार्यालयहरुले आफू मातहतका सवारीमा इम्बोस्ड जडानको काम पनि तीव्र पारेका छन् ।
फागुनसम्म करिब तीन लाख दुईपांग्रे र एक लाख चारपांग्रे सरकारी सवारी साधनले इम्बोस्ड प्लेट जोड्ने विभागको अनुमान छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयअनुसार आगामी फागुन मसान्तसम्म सबै सरकारी सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न भन्दै विभागले बिहीबार सूचना नै निकालेको छ ।इम्बोस्ड नम्बर प्लेट जडानका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा गएर अनलाइन आवेदन दिने व्यवस्था गरेको छ । तोकिएका नजिकैको यातायात व्यवस्था कार्यालयमा पुगेर राजस्व तिरेपछि प्लेट जडान गर्न सकिने विभागले जनाएको छ । मन्त्रालयले यातायात व्यवस्था ऐन २०४९ को अनुसूची २ अनुसार भएको निर्णय कार्यान्वयन गर्न सबैलाई सूचित नै गरेको छ ।यसअनुसार निजी सवारी साधनले अहिले स्वेच्छिक रुपमा इम्बोस्ड जडान गरिरहेका छन् । फागुनपछि निजी सवारी साधनलाई पनि क्रमशः अनिवार्य गर्दै लैजाने विभागको योजना छ ।
विभागका महानिर्देशक डा. टोकराज पाण्डे इम्बोस्ड नम्बर प्लेट जडानमा अब थप आलटाल र अलमल नहुने बताउँछन् । जडान नभए पनि ठेकेदार कम्पनीले ९५ प्रतिशत भुक्तानी पाउने गरी विगतमा खरिद सम्झौता भएकाले जडानलाई रोकिराख्दा देशले ठूलो मूल्य चुकाउनुपर्ने उनको भनाइ छ ।
“हामी इम्बोस्ड प्लेट अनिवार्य गर्न अघि बढिसक्यौं, परेका समस्याहरु फुकाउँदै जान्छौं, प्लेट सवारीधनीले कार्यालयबाट बुझ्ने र वर्कसपमा गएर आफैंले जडान गर्नसक्ने मोडलमा जाँदैछौं’ उनले भने, ‘यसले इम्बोस्डका लागि लाइन लाग्नुपर्ने अवस्था पनि हट्छ ।’
गत साउनमा यातायात व्यवस्था विभागले प्रदेशको नाम मात्रै र पूरै प्लेट नै नेपाली भाषामा लेख्न सकिनेरनसकिने र त्यसका लागि के–के गर्नुपर्छ भन्नेबारे ठेकेदार कम्पनीसँग सुझाव मागेको थियो । गुणस्तर सुधार्न र डिजाइन बदल्न सकिने/नसिकने बारे पनि जवाफ मागेको थियो ।