प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचित गर्न आइतबार बिहान ७ बजेबाट देशैभर एकसाथ मतदान सुरु भएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदात साँझ ५ बजेसम्म हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन भएको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूणर् तयारी गरेर मतदान सुरु गरिएको उनको बताए ।
देशभर १० हजार ८ सय ९२ मतदानस्थल छन् भने २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन । ती मतदान केन्द्रबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न पाउनेछन् ।
त्यसबाहेक समानुपातिक तर्फका लागि अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ भने ४ लाख ५० हजार अस्थायी मतदाता छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ४ सय १२ र प्रदेशसभाका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी मैदानमा छन् । चुनावबाट प्रतिनिधिसभाका २ सय ७५ सदस्य र प्रदेश सभाका ५ सय ५० सदस्य चयन हुनेछन् ।
प्रतिनिधिसभाका लागि १ सय ६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट चयन हुनेछन् भने सात वटा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३ सय ३० जना र समानुपातिक तर्फ २ सय २० जना निर्वाचित हुनेछन् ।
बाँकेको डुडुवा गाँउपालिका वडा नं. २ अन्र्तगत रहेको सिपुरी मतदान केन्द्रस्थल (क) का अधिकृत गोरख नाथ योगी अनुसार मतदान केन्द्रमा बाहिर र भित्र आउन जान सक्ने सहज व्यवस्थापन गरिएको छ । मतदान क्रममा कुनैपनि अपराधिक गतिविधि हुन नदिनका लागि नेपाल प्रहरी तैनाथ गरिएको छ । मतदातालाई खोजतलासी गरेर मात्र प्रवेश दिने गरिएको उनले बताए । महिला, पुरुष र वृद्धका लागि सहज हुने गरी लाईन व्यवस्थापन गरिएको अधिकृत योगीले जानकारी दिए ।