बाँके, प्रदेश सभा-२ (२) का सुरेन्द्र हमालले आफु निर्वाचित भएपछि बेरोजगार महिलालाई सिपमुलक तालिमको ब्यवस्था गरेर आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा घरदैलोका क्रममा उपस्थित महिलाले बेरोजगारी समस्याबारे कुरा राखेपछि हमालले यस्तो बताएका हुन् ।
उक्त वडाका अधिकांश महिला बेरोजगार छन् । हमाल निर्वाचित भएपछि इच्छा अनुसारको तालिम तथा सिप सिक्न पाउने अपेक्षा गरेको महिलाहरु बताउँछन् ।
पहाडी, मुस्लिम र मधेशी समुदायको मिश्रित बसोबास रहेको उक्त वडामा अझ बढी मधेशी तथा मुस्लिम समुदायका महिलाहरु बेरोजगार छन् । ‘हामी सुरेन्द्र हमाललाई जिताउँछौं, तर जितेपछि हामीलाई हामीले गर्न सक्ने केही सिप मुलक तालिमको व्यवस्था गरिदिनुपर्छ,’ महिलाले भने ‘सिप मुलक कार्यक्रम नेपालगन्ज वडा नम्बर १ मा ल्याउनुपर्छ ।’
काँग्रेस नेता समेत रहेका उम्मेदवार हमाललाई साधारण जीवनशैली भएको सक्षम, ईमान्दार र विकासप्रेमी व्यक्तिका रुपमा चिनेको वडा नम्बर १ का स्थानीयले बताए । महिला केन्द्रित मात्र नभई वडा नम्बर १ मा शुद्ध खानेपानी, उज्यालोको लागि बिजुली बत्ती र सडकको पनि समस्या भएको र त्यसको समाधानका लागि हमालमार्फत पहल गराउने स्थानीयले बताए । स्थानीय तहको निर्वाचनको भन्दा बढी मत ल्याउने गरी दिनरात नभनेर प्रत्येक घरमा जादै हमाल लगायत काँग्रेसका उम्मेदवारलाई जिताउन अपिल गरिरहेको वडा सभापति सितादेवी काफ्लेले बताईन् ।