कैलाली , कैलाली क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधी सभा निर्वाचनका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले मंगलबार उनको उम्मेदवारी खारेज गरिदिएको हो ।
२०७२ को टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका कारण थारुको उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनको उम्मेदवारी विरुद्ध धनगढी उपमहानगरपालिकाका रामबहादुर सिंहले उजुरी दिएका थिए ।
संघीय कानुन बमोजिम लक्ष्मण थारु प्रतिनिधी सभा सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवार बन्न अयोग्य रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्तव्य ज्यान मुद्दामा उच्च अदालत दिपायलले थारुलाई जन्मकैदको सजाय सुनाएको थियो ।
उक्त फैसला विरुद्ध उनी सर्वोच्च अदालतमा पुनरावदेनमा गएपनि मुद्दा अहिले पनि विचाराधीन छ । ज्यान मार्ने उद्योगतर्फ थारुलाई सुनाइएको पाँच वर्षको कैद सजाय पनि भुक्तानी नगरेको र भुक्तान भएको अवस्थामा समेत प्रतिनिधी सभा निर्वाचन ऐन २०७४ अनुसार सो सजाय भुक्तान भएको ६ वर्षसम्म उम्मेदवार बन्न नपाउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00