spot_img
Sunday, February 5, 2023
Homeब्यानरभारतका निर्वासित दुई परिवारका स्मारक

भारतका निर्वासित दुई परिवारका स्मारक

spot_img

भारतको अधिकांश भूभाग ब्रिटिस साम्राज्यको अधिनस्थ भइ सकेको थियो । कयौं ससाना रजौटाहरु ब्रिटिस सरकारको गुलामी स्वीकार गरेर बसेका थिए । तर, भारतको एउटा यस्तो क्षेत्र थियो जहाँ अंग्रेज आफ्नो शासन फैलाउन सकि रहेका थिएनन् ।उत्तर भारतको झाँसी, कानपुरको विठुर र अवध राज्यमा ब्रिटिसलाई शासन गर्न सहज भएन । सन् १८५७ मा पहिलो भारतीय स्वतन्त्रताका लागि एउटा संगठित संघर्षको थालनि भयो । यो संघर्षको नेतृत्व उत्तर भारतका राज्यहरुले गरेका थिए ।पहिलो पटक स्वतन्त्रताको लडाइँमा अग्रसर भएका कानपुर नजिकैको विठुरका राजा नानाराव साहेब पेशवाले आफ्ना आसपासका राज्यहरुलाई संगै लड्न उत्प्रेरित गरेका थिए । भारतका इतिहासकारहरुले उल्लेख गरे अनुसार पानीपतको तेस्रो युद्धको नामले उल्लेख गरिएको सन् १७६१ मा मराठा र अफ्गानबाठ आएको अहमत शाह अब्दाली बीच युद्ध भएको थियो । त्यस युद्धमा मराठा सैनिक र उनीहरुसँगै आएका महाराष्ट्र र गुजरातका तीर्थयात्री, महिला, बालबालिका सहितको ठूलो जमात थियो ।मराठाहरु खास गरी यसअघिका कयौं युद्धहरु जितिदै आएकाले उच्च उत्साहमा थिए ।
उनीहरुले अब्दालीलाई जितेर हरिद्वारमा गई गंगा स्नान गर्ने र मकर संक्रान्ति मनाउने पर्व मनाउने पहिले योजना बनाएका थिए । तर, दुर्भाग्य जाडो यामको त्यो लडाइमा मराठा पराजित हुन पुगे र त्यहाँबाट भागेर उत्तर भारतका कयौं ठाउँमा बसोबास गर्न पुगे ।
भारतमा मुगल साम्राज्य समाप्त भइरहेका बेला केही वर्ष अघि देखि बस्दै आएका मराठाहरुले उत्तर भारतमा आफ्नो अधिपत्य जमाइ सकेका थिए ।त्यस मध्ये एउटा थियो कानपुर नजिकैको विठुर राज्य । मराठा र गुजरातीहरु भारतको मध्ये प्रदेश देखि लिएर तराइको विशाल भूभाग सम्म फैलिइ सकेका थिए ।
भारतको प्रथम स्वतन्त्रता संग्राम सन् १८५७ को संघर्षको मूल नायक नानाराव साहेबलाई मानिन्छ । कम्पनी शासनले उनलाई विठुरको उत्तराधिकारी बन्न नदिए पछि उनले विद्रोह गरे ।
सन् १८५७ मा उनले तीर्थयात्राको बाहनामा काल्पी, दिल्ली तथा लखनउको यात्रा गरे । कम्पनी सरकारको मेरठको ब्यारेकमा जनविद्रोहको बिगूल बज्यो त्यो बेला नानाराव साहेबले कहीले गुप्त रुपमा कहिले प्रत्यक्ष रुपमा क्रान्तिको नेतृत्व गरे । कानपुर क्षेत्रबाट अंग्रेजलाई धपाउन सफल भए । तर, पछि अंग्रेजले छोडेनन् । उनलाई विठुर छोड्न बाध्य पारे ।
उनी परिवार सहित अवध राज्य लखनउ आइपुगे । त्यही बेला उत्तर भारतको अवध राज्य र ससाना रजौटाहरु मिलेर अंग्रेजसँग संघर्ष गर्न थाले । जसलाई भारतीय इतिहासमा “अवध गदर” भनिएको छ ।
अवध गदरको समयमा मराठी इतिहासकार विष्णु भट्ट गोड्से (१८२७ – १९०७) त्यो बेला उत्तर भारतको यात्रामा थिए । उनले लेखेको “माझा प्रवास” किताबको हिन्दी रुपान्तरण गरेका अमृत लाल नागरले आफ्नो किताब “आँखो देखा गदर”मा यी प्रसंगहरु उल्लेख गरेका छन् ।
अवध गदरको करिव एक सय वर्ष पछि अवध लाल नागरले लखनउ आसपासका क्षेत्रहरु घुमेर स्थानीय तथ्यहरु जुटाएका थिए । उनी त्यो बेला तथ्य संकलनका लागि नेपालगञ्ज र ढोढेगाँउ पनि आएका थिए ।
अवध गदरका बेला विठुरका नानाराव साहेब, तुल्सीपुर स्टेटको अपदस्त राज्यकी रानी ईश्वरीकुमारी देवी, गोन्डाका राजा देवी बक्स सिंह, उत्तरौलाका राजा रियासत अलि खान, चर्दा जमोगका तालुक्दारहरु अवधको बेगम हजरत महल सबै मिलेर अंग्रेजका विरुद्ध मोर्चा बनाएका थिए । त्यो विद्रोह दवाउन अंग्रेजहरुले नेपालका राणा शासकहरुलाई गुहारे र अवध गदर विफल भयो ।
त्यस पश्चात वेगम हजरत महल आफ्ना सैनिक, सेवक, सहयोगीका साथै राणा बेनी माधव सिंह सहित राप्ती नदिको किनारै किनार लागेर दाङ जिल्ला पुगेर नेपालमा बस्न शरण मागिन् । उनीसँग आएका लावालस्कर मध्ये केही यतै बसे बाँकी काठमाडौं पुगे ।
अर्कोतिर नानाराव पेशवा र उनीसँगै आएकाहरुले राजनीतिक शरण नलिइ चर्दाको महजिदियाको बाटो हुँदै वर्तमान नेपालको ठोरिया जंगलमा आफ्ना अनुयायीहरु सँगै नेपालगञ्जको आसपासको क्षेत्रमा बस्न रोजेका थिए । त्यो बेला कालाजार रोगको प्रकोप फैलिएकोले जंगलको वीचमा लुकेर बस्न अप्ठ्यारो भयो र नानाराव साहेबले पनि आफ्नो परिवारका धेरै जसो सदस्यहरुलाई काठमाडौं बेगम हजरत महलसँगै बस्न पठाइदिएका थिए ।
आफू आफ्नो भेष बदलेर नेपाल र भारतमा गुमनाम भएर शेष जीवन व्यतित गरेको कुरा इतिहासकारहरु उल्लेख गर्छन् ।
फेब्रुअरी १८६० मा अंग्रेजहरुले नानाराव साहेबका रानी र उनको परिवार काठमाडौंमा बसोबास गरेको पत्ता लगाइ सकेका थिए । तर, भारतीय इतिहासकारहरुले उनको बारेमा खोजविन गरेनन् । अवध गदरका नायक नानाराव साहेबका केही अनुयायीहरुको ठोरियाका जंगलमा कालाजारका कारण मृत्यू बरण गरेकहरुको समाधी स्थल विद्यमान छन् भने नेपाली सेना र बेगम हजरतका सिपाइ बीच संघर्ष भएको स्थल दाङ जिल्लामा कालाकाटे नामले परिचत छ ।
बेगम हजरत महलको मकबरा काठमाडौंको बागबजार मस्जिद नजिकै अहिले पनि अवस्थित नै छ । यस्तै नानाराव साहेबको परिवार बसेको काठमाडौंको थापाथलिको कुरीया गाउँमा उनको परिवारले निर्माण गरेको लक्ष्मीनारायण मन्दिर र त्यहाँ रहेको शिलालेखले अहिले पनि काठमाडौंमा अवध गदरका दुई क्रान्ति वीर परिवारको उपस्थितिको आभास गराइ रहेको छ । र त्यही बेलादेखि ती परिवारसँगै आएका सैनिक, सेवक र अनुयायीहरु मध्ये केही नेपालगञ्जकै आसपासमा बस्दै आएका छन् ।
भारत अहिले सन् २०२१ मा स्वतन्त्रताको ७५ औं वर्षगाँठ मनाइरहेको छ । भारतको प्रथम स्वतन्त्रता संग्राम सन् १८५७ मा संगठित भएर क्रान्तिका विगुल फुकेका योद्धाहरुलाई सम्झना गराउने काठमाडौंमा रहेका यी ऐतिहासिक साक्ष्यहरु पुरातात्विक महत्त्वका भइसकेका छन् । यी स्थलहरुको संरक्षण र सम्र्वदनमा तत्परता देखाउनु पर्ने देखिन्छ ।

ऐतिहासिक केही तस्विरहरु
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here