स्प्रिङडेल एकेडेमी नेपालगन्जका विद्यार्थीहरुले शनिबार नमूना लुम्बिनी प्रदेशसभाको व्यवहारिक अभ्यास गरेका छन् । यसअघि स्थलगत रुपमै लुम्बिनी र सूदुरपश्चिम प्रदेशसभा पुगेर त्यसबारे स्थलगत अवलोकन गर्दै जानकारी लिएका विद्यार्थीहरुले त्यसको व्यवहारिक अभ्यास शनिबार विद्यालयमा गरेका हुन् । अध्ययनका क्रममा सिकेका विषयलाई व्यवहारिक अभ्यास गरिएको विद्यालयका विद्यार्थीहरुले बताएका छन् ।
स्प्रिङडेलका विद्यार्थीहरुले नमूना लुम्बिनी प्रदेश सभा अभ्यासका क्रममा प्रदेशसभा हल, विषयगत समितिका छुट्टाछुट्टै हल प्रयोग गरेका थिए । खासगरी कक्षा ७ र ८ का विद्यार्थीहरुलाई लुम्बिनी प्रदेशसभामा जस्तै ७४ सांसदहरु बनाइएको सभामा सभामुख, विषयगत समिति र मर्यादापालकको भूमिका भने कक्षा ९ र १० का विद्यार्थीहरुले निभाएका थिए ।
मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, प्रदेशसभा सदस्य, विषयगत समिति, मर्यादापालक लगायत प्रदेशसभामा हुने पदहरु समेत नमूना अभ्यासमा समेटिएको थियो । त्यसक्रममा प्रदेशसभामा सदस्यहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी दिइएको थियो ।
नमूना लुम्बिनी प्रदेश सभामा सभामुखको भूमिका निर्वाह गरेकी कक्षा १० की छात्रा हिना खड्काले अभ्यासका क्रममा चार वटा मन्त्री र चार वटा विभिन्न समिति बनाएर विषयगत रुपमा छलफल गरी प्रदेशसभामा प्रस्तुत भएको जानकारी दिइन् । ‘समितिहरुले छलफल पछि तयार गरेको विषयहरु प्रदेशसभामा प्रस्तुत पछि पारित भएका छन्’, उनले भनिन् ।
प्रदेशसभामा मुख्यमन्त्री कक्षा ८ का निश्चल विष्ट थिए भने कृषि मन्त्री अनुजा घिमिरे, पर्यटन विकास मन्त्री मातृका न्यौपाने, महिला सशक्तिकरण मन्त्री उषा शर्मा र विद्यालय शिक्षा मन्त्री प्रत्युश कार्की रहेका थिए ।
ृ देशसभा अन्तर्गत बनाएको कृषिमा आधुनिकीकरण समितिको संयोजक श्रृष्टि विष्ट, पर्यटन विकास समिति संयोजक जयन्द्र सिजापति, विद्यालय शिक्षामा प्रविधिको विकास समिति संयोजक सलिमा शाह रहेका थिए । मर्यादापालक समूहको नेतृत्व कक्षा १०का समृद्धि सिंहले गरिन् ।चार वटा समूहका बाँडिएका विद्यार्थीहरुले आफुले पाएको समूह अन्तर्गतको विषयमा छलफल गरी प्रस्ताव प्रदेशसभामा लगेका थिए ।
ृ ‘प्रदेशसभामा जस्तो विद्यार्थीहरुलाई दलगत नबाँडेर समूहमा विभाजन गरी समस्या पहिचान र समाधानको प्रस्ताव बनाउन लगाएका थियौं’, विद्यालयकी शिक्षिका निशा रावलले बताइन् ।
‘प्रदेशसभा कसरी गठन हुन्छ, कसरी काम गर्छ, प्रदेशसभा सञ्चालन लगायतका सम्पूर्ण गतिविधिहरु विद्यार्थीहरुलाई व्यवहारिक अभ्यास गराएका हौं’, रावलले भनिन्, ‘यसले विद्यार्थीहरुले व्यवहारिक ज्ञान प्राप्त गर्नुका साथै सिर्जनशील हुने तथा उनीहरुको क्षमता समेत अभिवृद्धि हुने विश्वास विद्यालयले लिएको छ ।’
00