नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ मा रोजगार खोज्दै १० जिल्लाका ७१ जनाले निवेदन दिएका छन् ।नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेका ७ वटा स्थानीय तहसँगको सहकार्यमा काँरकादोस्थित सडक डिभिजन कार्यालय परिसरमा जारी प्रादेशिक महोत्सव ए–वान स्टल नै राखेर रोजगारीको खोजीमा रहेका व्यक्तिहरुको संकलन गरेको तथ्याङ्कमा १० जिल्लाका युवा युवतीले निवेदन दिएका हुन् ।
रोजगार मेला व्यवस्थापन उप–समिति संयोजक भीमबहादुर रानाभाटका अनुसार निवेदन दिनेमा सबैभन्दा धेरै बाँकेका ५३ जना छन् । त्यसैगरी हुम्लाका ४ जना, सुर्खेतका ३ जना, डोल्पा र दैलेखका दुई दुई जना, दाङ, जुम्ला, जाजरकोट र सल्यानका एक एक जनाले निवेदन दिएका छन् । ‘पहिलो चरणमा हामी तथ्याङ्क संकलन गरिरहेका छौं । दोस्रो चरणमा मेला लगाउने छौं’, संयोजक रानाभाटले प्रष्ट पारे ।
सिभिल इन्जिनियर, आइटी, अटोमोबाइल्स, इन्जिनियरिङ, अचार बनाउने, कम्प्युटर अपरेटर, सेक्युरिटी गार्ड, ड्राइभर, इलेक्ट्रिसियन, सिलाइ कटाइ, सिलाइ बुनाइ, पेन्टर, मेडिकल लाइन, ग्यारेज, कार्यालय सहयोगी, होटल र रेष्टुरेन्टको वेटर, व्यूटिसियन, किचन हेल्परको काम जानेको भनेर निवेदन दिएको समितिका सदस्य सचिव कुशल गुप्ताले जानकारी दिए ।
प्रादेशिक महोत्सव २०८१ का संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी महोत्सवमा निवेदन दिएका युवा युवतीहरुलाइ सहभागी गराइ आगामी १६–१७ फागुुनमा नेपालगन्जमा रोजगार मेला लगाउने बताउँछन् ।
‘रोजगार मेलामा रोजगारदाता र रोजगारको खोजीमा रहेका व्यक्तिबीच सम्पर्क गराएर रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य हों’, अध्यक्ष धामी भन्छन्, ‘रोजगार मेलाबाट धेरै भन्दा धेरै ब्यक्तिका लागि रोजगारी उपलब्ध गराएर रोजगारीको खोजीमा विदेश पलायन रोक्न र देशको अर्थतन्त्र चलायमान बनाउने यसको मुख्य उद्देश्य हो ।’
नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ, राप्तीसोनारी, जानकी र नरैनापुर गाउँपालिकाले रोजगार मेलाका लागि संघसँग सहकार्य गरेका छन् । प्रादेशिक महोत्सवमा हरेक दिन स्थानीय तहका रोजगार शाखा प्रमुख वा प्राविधिक बसेर कार्यक्रमको उद्देश्यबारे प्रकाश पारिरहेका छन् । कोहलपुर नगरपालिकाको रिटर्र्नी स्वयंसेवक वसन्त डाँगीका अनुसार मंगलबार र बुधबार १५ जनाले निवेदन दिएका थिए । आयोजक संघले बेरोजगार व्यक्तिलाई निवेदन दिएर रोजगार मेलामा सहभागी हुन आव्हान गरेको छ ।
00