सक्रिय पत्रकारहरुको सदस्यतालाई हटाउँदै नेपाल पत्रकार महासंघले निर्वाचन प्रक्रिया अगाडी बढाएको भन्दैं नेपाल प्रेस युनियन बाँके आन्दोलनमा उत्रिएको छ । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको नेतृत्वमा शनिबार नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । बाँकेमा क्रियाशिल पत्रकारहरुको सदस्यतालाई शुद्धिकरणको नाममा हटाइएको भन्दैं महासंघको कार्यालयमा तालाबन्दी गर्नु पर्ने अवस्था आएको नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकालले बताए ।
सक्रिय पत्रकारहरुको सदस्यता कायम राख्दैं गैर पत्रकारहरुलाई प्रदान गरिएको सदस्यता खारेज नभएसम्म आन्दोलन जारी राख्ने नेपाल प्रेस युनियन बाँके अध्यक्ष ढकालले बताए । उनले भने,‘पत्रकार महासंघको केन्द्रिय कार्यसमितिले गैर जिम्मेवारी पुर्ण कार्य गरेको छ । महासंघको गरिमालाई घटाउने काम गरेको छ । व्यवसायिक रुपमा काम गरिरहेका पत्रकारहरुको सदस्यतालाई हटाउँदैं विधान विपरित गैर पत्रकारहरुलाई सदस्यता दिदैं नामावली प्रकाशन गरेको छ । यसलाई नसच्याए सम्म युनियन त्यसको विरुद्धमा आवाज उठाइरहन्छ ।’
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नविन गिरीले जिल्ला र प्रदेशले सिफारिस गरेको सक्रिय पत्रकारहरुलाई पाखा लगाउँदै कुनै संरचनाले नचिनेको, विधानमा उल्लेख नभएका राजनितिक पार्टीका सदस्यलाई भर्ति गरेर सदस्यता नामावली तयार पारिएको बताए ।उनले भने,‘सदस्यताको बारेमा टुङ्गो नलागेसम्म निर्वाचन प्रक्रिया अगाडी नबढाउन नेपाल प्रेस युनियनले आग्रह गर्दा समेत महासंघले नमानेपछि आन्दोलनमा उत्र्रन परेको हो । आजदेखि हामी आन्दोलनमा गछौं । महासंघले आफनो गल्ती सुधार नगरेसम्म नेपाल प्रेस युनियन आन्दोलनबाट पछि हटने छैन ।’
सक्रिय पत्रकारलाई हटाउँदैं महासंघले गैरपत्रकारहरुलाई सदस्यता वितरण गर्दै नामावली प्रकाशन गरेको भन्दैं नेपाल प्रेस युनियनले काठमाडौंमा पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरिसकेको छ । शनिबार विभिन्न जिल्ला र प्रदेश शाखामा पनि तालाबन्दैं गर्दै आन्दोलनका कार्यक्रम सुरु भैरहेको महासचिव गिरीले बताए ।
शनिबार तालाबन्दी लगाउने कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश सचिवालय सदस्य गौरव गिरी, नेपाल प्रेस युनियन बाँके उपाध्यक्ष कमल खत्री, निशा शाह सहित नेपाल प्रेस युनियन बाँकेका सदस्यहरुको सहभागिता रहेको थियो