नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले बाँके निर्वाचन क्षेत्र नं २ को पछिल्लो ३ वर्ष खेर गएको बताउनुभएको छ। आज नेपालगन्जको वडा नं १ स्थित सुन्दर नगरमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार राईले यो क्षेत्रबाट निर्वाचित अघिल्लो कार्यकालका संघीय सांसदले कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो।
‘यसअघिका संघीय सांसदले ३ वर्षे कार्यकालमा यो क्षेत्रमा संघीय सरकारबाट न कुनै अनुदान ल्याउन सक्नुभयो, न कुनै आयोजना, न कुनै योजना।’, उम्मेदवार राईले भन्नुभयो, ‘जस्तो ३ वर्ष पहिले थियो अहिले पनि त्यस्तै छ। म निर्वाचित भएपछि प्रदेश र संघीय सरकारसँग समन्वय गरी यो ठाउँको समस्या समाधान गर्न अधिकतम पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। ’
राईले आफ्नो पहलमा बाँके जिल्लामा ल्याइएका योजनारआयोजनाहरूमध्ये धेरै पूरा भएको र केही निर्माणाधिन रहेको पनि दाबी गर्नुभएको थियो।











