पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाउन लागिएको एचपिभी खोप अभियानका बारेमा बाँकेस्थित खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीसँग अन्तरक्रिया तथा अभिमुखीकरण गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा सोमबार अभिमुखीकरण गरिएको हो । यही माघ २२ गते मंगलबार देशभर एचपिभी खोप अभियान सञ्चालन गरिदैछ ।
सरकारले अभियान अन्तरगत देशभर सामुदायिक र संस्थागत बिद्यालयको कक्षा ६ देखी १० सम्म पढ्ने र बिद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समुहका किशोरी तथा बालिकालाई खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख, वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगतबहादुर शाहीले एचपिभी खोप अभियान सञ्चालन गर्नका लागि आवश्यक तयारी पुरा भएको जानकारी दिए । जिल्लाभर कुल ३६ हजार ९ सय ५० जना किशोरी तथा बालिकालाई खोप दिइनेछ ।
जिल्लामा रहेका ८ वटा स्थानीय तह मध्ये ४ वटामा पहिलो चरणमा र बाँकी ४ वटा स्थानीय तहमा दोस्रो चरणमा खोप अभियान सञ्चालन हुने उनले बताए । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार माघ २२ गतेदेखी फागुन १ गतेसम्म नेपालगन्ज, कोहलपुर, खजुरा र जानकीमा खोप अभियान सञ्चालन हुनेछ । यि ४ वटा स्थानीय तहका २४ हजार ५ सय ८९ जना किशोरी तथा बालिकालाई उक्त खोप दिइनेछ ।
यस्तै माघ ३० गतेदेखी फागुन ६ गतेसम्म राप्ती सोनारी, बैजनाथ, डुडुवा र नरैनापुरका १२ हजार ३ सय ६१ जनालाई खोप दिने कार्यक्रम रहेको श्रेष्ठले बताए । खोप अभियान सञ्चालनका लागि जिल्लाभर २ सय ९३ वटा खोप केन्द्र स्थापना गरिएको कार्यालयले जनाएको छ ।
सो क्रममा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले यौन सम्पर्क हुनुभन्दा अगाडी खोप लगाउँदा बढी प्रभावकारी हुने भएकाले सरकारले कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने र बिद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समुहका किशोरी तथा बालिकालाई खोप लगाउन लागेको बताए । विशेषगरी यौन सम्पर्कका माध्यमबाट भाईरस संक्रमणका कारण पाठेघरको मुखको क्यान्सर हुने सम्भावना रहेको उनले सुनाए ।