अनलाइन पत्रकार संघले नेपाल पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।मंसिर २८ गते सम्पन्न भएको पत्रकार महासंघको बाँके जिल्ला अधिवेशनबाट नवीन गिरीको अध्यक्षतामा २० सदस्यीय नयाँ नेतृत्व चयन भएको थियो । अनलाइन पत्रकार संघले नयाँ कार्यसमितिलाई आगामी कार्यकालको सफलताको कामना गर्दै सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा संघका अध्यक्ष कमल न्यौपानेले पत्रकार महासंघ बाँकेलाई चलायमान बनाउँदै नयाँ नेतृत्व पत्रकारको हक(अधिकार संरक्षणसंगै सुरक्षा र लेखनशैलीमा क्षमताबृद्धिका लागि गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । महासंघले आस्था र विचारका आधारमा कसैलाई पनि विभेद गर्न नहुने र श्रमजीवी पत्रकारका पक्षमा आवाज उठाउन सक्नुपर्ने उनले सुझाव दिए ।
सम्मान कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष गिरीले महासंघले कुनै खाले विभेदकारी भूमिका नखेली निरन्तर पत्रकारका पक्षमा लाग्ने र बाँके शाखालाई तीन बर्षमा देशभरकै नमुना शाखाका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालगन्ज उद्योग बाणिज्य संघको सभाहलमा भएको सम्मान कार्यक्रममा अनलाइन पत्रकार संघका अध्यक्ष न्यौपानेले महासंघका अध्यक्ष गिरीसहितको नवनिर्वाचित टीमलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।