बाँकेका दुई पत्रकार चन्द्रेश्वर राज त्रिपाठी र नन्दलाल साहूलाई अवधी सांस्कृतिक प्रतिष्ठानले सम्मानित गर्ने भएको छ। अवधी भाषी समाज र पत्रकारिता क्षेत्रमा उनीहरूको योगदानको कदर गर्दै यही साउन १५ गते बिहीबार नेपालगन्जमा आयोजना हुने ५२८औं तुलसी जयन्ती तथा २६औं अवधी महोत्सवको अवसरमा सम्मान गरिने आयोजकले जनाएको छ।
अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समिति, नेपालगन्ज, बाँके (लुम्बिनी प्रदेश) ले आयोजना गर्ने उक्त कार्यक्रममा दुवै पत्रकारलाई कदरपत्र र नगद पुरस्कार प्रदान गरिनेछ। महोत्सवमा सम्मान अर्पणसँगै पुस्तक विमोचन, लोकगीत गायन (महिला विशेष), बहुभाषिक काव्य गोष्ठी र विचार गोष्ठी जस्ता सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना हुनेछन्।आयोजकका अनुसार यो कार्यक्रमले अवधी संस्कृति र भाषाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने व्यक्तिहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।











