हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान प्रभावकारी नहुँदा बाँकेका तीन पालिका अझै पनि सो रोगको उच्च जोखिममा छन् । बाँकेका तीन स्थानीय तह हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको हो । पटकपटक हात्तीपाइले विरुद्धको अभियान चलाउँदा पनि बाँकेको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकामा हात्तीपाइले निवारण हुन नसकेको हो । जसले गर्दा अन्य स्थानीय तह पनि जोखिममा छन् । ‘एउटा मानिसमा भएको हात्तीपाइलेको फैलाउनु जीवाणु अर्कोमा सर्न सक्छ, त्यसको प्रसार मच्छरले गर्छ’, स्वास्थ्यकर्मी भन्छन्, ‘पछिल्लो सर्भेमा फेल भएका स्थानीय तहका कारण अन्य स्थानीय तह पनि अझै जोखिममा रहेका छन् ।’
विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसर डुडुवा गाउँपालिकामा स्वास्थ्य कार्यालय बाँकेको आयोजना र बासको समन्वयमा भएको हात्तीपाइले रोग विरुद्धको सार्वजनिक संवाद कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले नियमित र पूर्ण जनसंख्याले औषधी सेवन नगर्दा देशमै बाँके हात्तीपाइले निवारणमा पछि परेको बताए ।
‘बाँके जिल्लाका आठ स्थानीय तहमा नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका पछिल्लो सर्वे अनुसार हात्तीपाइले निवारण हुन सकेको छैन’, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीले भने, ‘त्यसैले पुन हात्तीपाइले विरुद्धको अभियान सुरु गर्नुपर्ने बाध्यता छ ।
प्रमुख शाहीका अनुसार, बाँकेमा हात्ती पाइले रोगको औषधी नखाने गर्दा यस्तो समस्या आएको बताए । उनले भने, ‘पटक पटक विभिन्न अभियानहरू गर्दै आएका पनि छौ तर विभिन्न कारणले गर्दा औषधि नै नखाइदिने समस्या देखिएको छ, यस्तो हुनु भएन ।’ प्रमुख शाहीले भने, ‘अनुपस्थिति, दिर्घ रोगी, प्रति असरको डर, जनचेतनाको कमि, गलत धारणा जस्ता कारण गर्दा औषधि नखानेहरूको संख्या बढी भएको छ ।’
शाहीले एउटा व्यक्तिले औषधी खाने र अर्कोले नखाइदिने गर्दा सर्ने सम्भावनाले समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको बताएका थिए । उनले अब तीन वटा पालिकालाई मात्र केन्द्रमा राखेर गरेर कार्यक्रम सञ्चालन गरिने बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत राम कुमार महतोले प्रस्तुत गरेको तथ्यांक अनुसार, बाँकेमा औषधी नखाने कुल संख्या मध्ये विजनेस म्यान ५६ प्रतिशत, विद्यार्थी ३८ प्रतिशत,शिक्षक ४२ प्रतिशत,कर्मचारी ४२ प्रतिशत, बृद्ध ६० प्रतिशत, बेरोजगार ३० प्रतिशत, श्रमिक ३६ प्रतिशत, चालक ५३ प्रतिशत, स्वाथ्यकर्मी स्वम समेत २७ प्रतिशत रहेका छन् ।
हात्तीपाइले रोग निवारणका लागि आइडिए इम्प्याक्ट सर्भेमा बाँकेका तीन वटा पालिका अनुतिर्ण भएको तथ्यांक छ । नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका आइडिए इम्प्याक्ट सर्भेमा अनुतिर्ण भएका हुन् । ती पालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भएको छ ।
अध्ययन अनुसार, नेपालगन्ज उपमहानगरपालिकामा ३८२ घरधुरीका १ हजार २१८ जनाको स्याम्पल जाँच गर्दा १९ जना, डुडुवा गाउँपालिकामा ११४ घरधुरीका ३५१ जनाको स्याम्पल जाँच गर्दा ८ जना र नरैनापुर गाउँपालिकाको ९९ घरधुरीको ३३१ जनाको स्याम्पल जाँच गर्दा ७ जनागरी ३४ जनामा हात्तीपाइले पुष्टि भएको छ ।
बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले सहजिकरण गरेको कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद शाहीले स्वागत सहित उद्देश्य माथि प्रकाश पारेका थिए ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा बिश्व स्वास्थ्य संगठनका डाक्टर प्रकाश शाक्य, पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्मा, मौलाना बद्रि आलम लगायतले बोलेका थिए । कार्यक्रम गाउँपालिकाको वडा नम्वर ५ को वडाध्यक्ष आमोद प्रसाद तिवारीले समापन गरेका थिए ।
औषधि खानेले निरन्तर खाइरहने र नखानेले एक पटक पनि औषधि नखाइदिएका कारण ६ वर्षमा सकिनुपर्ने यो अभियान १३ वर्ष पुग्दा पनि सकिएको छैन ।