उद्योगीहरुको नेतृत्व गर्दैै आएको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको नेपालगंज उपमहानगरपालिकको नगर कार्यसमितिले शुक्रबार बाँकेको नेपालगंजमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नगर कार्यसमितिको आयोजना तथा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा बाँकेको सबै भन्दा बढि रक्तदान गर्ने गोपीनाथ बैश्यलाई सम्मान गरीएको थियो । वैश्यले १५६ पटक रक्तदान गरी सकेका छन ।यसैगरी ७७ पटक सम्म रक्तदान गरेकी सरिता कुमारी ज्ञवालीलाई पनि सम्मा नगरीएको थियो ।यसैगरी विश्व रक्तदाता दिवसको उपलक्ष्यमा आयोजना गरीएको बृहत रक्तदान कार्यक्रमलाई सहयोग तथा समन्वय गरे वापत मदिरा व्यवसायी संघ,बाँके,हाइजनिक प्याक्ट प्रालि एवं डाबर नेपाल प्रालीलाई कदरपत्रद्धारा सम्मान गरीएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले रक्तदान महान दान भएको हुदाँ रक्तदानमा सबैले सहभागिता जनाउन अनुरोध गर्दै भने,‘रक्तदानको फल तुरुन्तै पाइन्छ अतः यो अति नै ठुलो पुन्यको काम हो ,बाँकेको नेपालगंजले अन्य जिल्लाका मानिसहरुलाई समेत सेवा दिनु पर्ने हुदाँ जिल्लामा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आवश्यक छ ।’
यसैगरी प्रजातान्त्रिक उद्योगी व्यवसायी नगर कार्यसमितिका अध्यक्ष शिवप्रसाद दाहालले नेपालगंजको अत्याधिक गर्मीमा कसैलाई पनि रगतको अभाव नहोस भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरीएको बताउँदै भने,‘नेपालगंज अत्याधिक गर्मी हुने स्थान हो अतः यहाँ दैनिक रुपमा रगत आवश्यक पर्ने विरामीहरु बढ्ने गरेको पाउँछौ ,कसैले पनि रगतकै अभावमा मृत्यु हुन नपरोस भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरीएको हो,हामीले यो कार्यक्रमलाई बार्षिक कार्यक्रम बनाएर लैजाने छौ ।’
यसैगरी प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका जिल्ला सभापति संजय थापाले रक्तदान महादानको रुपमा लिएको बताउँदै भने,‘अहिले बाँकेका रगतको अभाव बढ्दै गएको भन्ने छ, अतः जिल्लामा रगतको अभाव हुन नदिनका लागि सबै संघ संगठनहरुले रक्तदान कार्यक्रमलाई तिव्रता दिन पर्ने हुन्छ,यसैको निरन्तरता नै हो आजको यो कार्यक्रम ।’
यसैगरी नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार केन्द्र बाँकेका प्रमुख उपेन्द्र रेग्मीले दैनिक रुपमा रक्तदान कार्यक्रम हुदै आएको भएता पनि रगत विभिन्न विरामीहरुलाई आवश्यक पर्ने भएको हुदाँ अभाव नै देखिएको बताए ।
बाँकेमा अहिले नेपालगंज,कोहलपुर र खजुरा रक्तसंचार केन्द्रबाट रगत संकलन हुने गरेको छ । खास गरी बाँके जिल्ला अन्य जिल्लाको केन्द्र जिल्ला परेको र औषधि उपचारका लागि विभिन्न स्थानबाट विरामीहरु आउने हुदाँ रगतको अभाव हुने गरेको हो । अर्को तर्फ भेरी अस्पताल नेपालगंजमा विरामीको चापसँगै सिकलसेल जस्ता विरामीहरुका लागि रगत आवश्यक पर्ने भएको हुदाँ रगतको अभाव हुन पुगेको हो ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ जिल्ला कार्यसमितिका सचिव हिमनाथ पौडेलले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री गजेन्द्र बहादुर हमाल,नेपाली कांग्रेस जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारी,नेपाली कांग्रेस क्षेत्र नं.२ का क्षेत्रिय सभापति रमेश गुप्ता ,कांग्रेस पार्टिका कोषाध्यक्ष यज्ञ बहादुर वस्नेत ,रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवद्धन सिंह सम्झना लगायतको उपस्थिति रहेको थियो । शुक्रबार आयोजित बृहत रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरी सहयोग गरेको संघका नगर अध्यक्ष दाहालले जानकारी दिए ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस